मिक्लाजुङ गाउँपालिकाले प्राकृतिक विपद्का पीडितका लागि ७ दिनको सुविधा सहयोग गर्ने

  • this is image NayaNaya Khabar
  • 0 दिन अगाडि

theme

मधुमल्ला, मोरङ /रसुवा, नुवाकोट, धादिङ, गोर्खा तथा चितवन क्षेत्रमा आएको प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति मिक्लाजुङ गाउँपालिकाले दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखी आवश्यक सहयोग र समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित थप क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ।

785363264_2126311814589062_749780405952448098_n.jpg 160.51 KB

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो सुविधाबाट ७ दिन बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँपालिका तथा मातहतका कार्यालयमा कार्यरत अधिकृतस्तरका कर्मचारीबाट ७ दिन, सहायकस्तरका कर्मचारीबाट ५ दिन तथा सहयोगी एवं श्रेणीविहीन कर्मचारीबाट ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

यसैगरी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूबाट १ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, गैरसरकारी संघ–संस्था तथा सम्पूर्ण सहयोगी हातहरूलाई उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा एकजुट भएर सहयोग गर्न हार्दिक अपिल गरेको छ।

प्राकृतिक विपद्को समयमा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न, सम्भावित थप जोखिमप्रति सचेत रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ

छुटाउनुभयो कि ?