जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक

  • this is image NayaNaya Khabar
  • 26 दिन अगाडि

theme

रुख कटान गर्ने सहमति हुन नसक्दा जङ्गल क्षेत्रमा सडक निर्माण गर्न नसकिरहेको मदन भण्डारी राजमार्ग आयोजनाको दमक कार्यालयविरुद्ध परेको मुद्दामा अदालतले जग्गाधनीको पक्षमा फैसला गरिदिएपछि अर्को समस्या थपिएको छ । 
मोरङको मिक्लाजुङ–९ र ६ का चार जना जग्गाधनीले स्वीकृत डिपिआर अनुसार सडक निर्माण गर्न नदिएपछि मधुमल्ला बजारपश्चिमको कसेनीदेखि  बक्राहा पुलसम्मको पाँच सय मिटर सडक निर्माण रोकिएको हो । रोकिएको स्थानको पश्चिमतर्फको सडक कालोपत्रे छ । पूर्वतर्फ कालोपत्रेका लागि बेससमेत हालिसकिएको छ । बिचको पाँच सय मिटर सडकमा आफ्नो नम्बरी जग्गा परेको भन्दै शारदाप्रसाद रिमाल, भीमबहादुर खड्का, नयनबहादुर मोक्तान र नरबहादुर तामाङले जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्नुभएको थियो । अदालतले सडक साबिक नक्सा अनुसार लानु भन्दै जग्गाधनीको पक्षमा फैसला गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।
फिल्ड नक्सामा कसेनी चोकबाट ५० फिट उत्तरमा बाटो देखिन्छ । उक्त सडकमा परेको जग्गा हाल स्थानीयले नै भोगचलन गरिरहेका छन् । शारदाप्रसाद रिमालले भन्नुभयो, “बाटोको जग्गा नगेन्द्र बोहोरा, छत्रबहादुर पिठाकोटे र भुवनसिंह खत्रीले भोगचलन गर्दै आउनुभएको छ । सडकमै तीन जनाले घर बनाइसक्नुभएको छ । हाम्रो जग्गा मिचिने र सडकको जग्गा अरूले कमाइ गरिखान पाउने, घर बनाउन पाउने हुनुहुँदैन ।” रिमालले लामो समयदेखि थिचोमिचो भएकाले अब मुआब्जा लिएर पनि सडकलाई जग्गा नदिने बताउनुभयो । 
२०७६ सालमा मदन भण्डारी राजमार्गको डिपिआर स्वीकृत हुँदा आफूहरूलाई कुनै सूचना नभएको रिमाल बताउनुहुन्छ । “हामी सडकको विरोधी होइनौँ तर सडक आफ्नो ठाउँ जहाँ छ, त्यहीँबाट बनोस् भन्ने हो,” उहाँको भनाइ छ । 
यता मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईका अनुसार सडक र राजकुलो एक पटक प्रयोगमा आइसकेपछि त्यसलाई परिवर्तन गर्न गाह्रो छ । उहाँले भन्नुभयो, “अघिल्लो कार्यकालमा डिपिआर तयार भएको हो । उतिबैलै सरोकारवालासँग समन्वय गरेर डिपिआर बनाउनु पथ्र्याे । अब स्थानीयले अदालतबाट मुद्दा जितिसकेपछि हामीले अदालतको मानहानि हुने गरी निर्णय गर्न पनि गाह्रो छ ।” मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयले सहजीकरणका लागि पत्र पठाएको बताउँदै अध्यक्ष राईले चाँडै समस्याको समाधान खोजिने बताउनुभयो । 
आयोजनाका दमक कार्यालय प्रमुख गोपालप्रसाद खकुरेलले लालपुर्जा भएको जग्गाबाट सडक लान नसकिने बताउनुभयो । उहाँले अधिग्रहण गर्दा क्षतिपूर्ति दिनु्पर्ने बताउँदै देशभरि कतै पनि क्षतिपूर्ति दिएर जग्गा प्राप्त नगरेकाले क्षतिपूर्ति दिन असम्भव रहेको उल्लेख गर्नुभयो । खकुरेलले भन्नुभयो, “जग्गा प्राप्ति ऐन अनुसार गाउँपालिकाले समन्वय गरिदिनेबाहेक हामी कुनै विकल्प देख्दैनौँ । खकुरेलका अनुसार हालसम्म आयोजनाको ७० प्रतिशत भौतिक प्रगति र ६४.४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।” 
निर्माण कम्पनी श्रेष्ठ मोतीदान जेभीका इन्जिनियर प्रह्लाद ढुङ्गानाका अनुसार सरकारले साइट खाली नगरी टेन्डर आह्वान गर्दा आयोजना, स्थानीय र निर्माण कम्पनी मारमा परेका छन् । उहाँले भन्नुभयो, “२०७८ असार २९ गते सम्झौता भई ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो । सरकारले जङ्गल क्षेत्रका रुख नहटाइदिँदा पुनः म्याद थप्नुपर्ने भयो ।” यो सडक ३६ महिनामा सम्पन्न गर्न सकिने अवस्था थियो । उहाँले ३ नम्बर प्याकेजको भलुवा–बेलडाँगी सडकको जङ्गल क्षेत्रमा छ किमी र मुद्दा परेको वारिपारि तीन सय मिटरसहित आठ सय मिटरबाहेक सबै काम थप भएको समय आगामी पुस २७ सम्ममा निर्माण सम्पन्न हुने बताउनुभयो ।