बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे जवाफ दिए जोगीले

  • this is image NayaNaya Khabar
  • 404 दिन अगाडि

theme

तेजन खड्का 

मुखमा राम राम बगलीमा छुरा’ यो उखान यतिबेला मोरङको उर्लाबारी नगरपालिकाका मेयर गङ्गाप्रसाद खरेलसँग ठ्याक्कै मेल खाएको छ।

ओम शान्तिका साधक मेयर खरेलको नगरपालिका प्रवेशले धेरैलाई आशा जगाएको थियो। मितबव्ययी भएर नगरपालिका सञ्चालन होला र नीति तथा कार्यक्रममा सार्वजनिक भएका विकास निर्माणका काम सञ्चालन होलान भन्ने नगरवासीको अपेक्षा थियो। तर नगर प्रवेश गरेको ११ महिना उनी भ्रमण, साधुसन्तसँग अन्तरक्रिया र पार्टीका कार्यकर्ताको पालन पोषणमै रमाएका छन्।

चुनावताका आफैँले बोलेका कामसमेत सम्पादन गर्न चुकेका छन्। नगरपालिकाको भत्ता नलिने भनेर भाषण गरी लोकप्रिय बनेका नगरप्रमुख खरेलले आफूले बोलेको कुरा पूरा गर्न सकेनन्। आफूले जितेमा नगरपालिका कार्यालय र वडा कार्यालयमा नागरिक सहायता कक्ष राख्ने उनको प्रतिबद्धता अझै पूरा भएको छैन।

नगरले चैत २९ गते आयोजना गरेको सार्वजनिक सुनुवाइमा उनले आफ्ना ‘आसेपासे’ र कार्यकर्तालाई मात्र खबर गरेको थिए। नगरमा ८० हजार जनसङ्ख्या रहेको छ। तर नगरको झण्डै २ सय जना अटाउने सभाहलमा २ फिट दूरी कायम गरी ५० वटा जति कुर्सी राखेर सार्वजनिक सुनुवाइ आयोजना गरे। त्यही सार्वजनिक सुनुवाइमा पनि खरेलको टिमको तीब्र आलोचना भयो।

निर्वतमान नगर प्रमुख खड्गबहादुर फागोले नै नगरको गौरवको आयोजनाका रुपमा निर्माण गर्न डिपीआरसमेत निर्माण गरेको बक्राहाघाट मेयर खरेलले बक्राहा विष्णु–गङ्गा घाट नेपाल नामको संस्था जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गरेर साधुहरूको टिमलाई जिम्मा लगाएका छन्।

नगरपालिका आफैँमा सरकार हो। सरकारले काम गर्न किन गैरसरकारी संंस्था गठन गर्नुपर्यो भन्ने प्रश्न पनि उठ्याे। सार्वजनिक सुनुवाइमा अधिकांश सहभागीले नाम परिवर्तन नगर्न सुझाएका थिए। तर त्यसबेला जवाफविहीन बनेका मेयर खरेलले बिहीबार साधुसन्त र केही जोगीहरू नगरपालिकाको हलमा भेला गरेर उनीहरूलाई नै सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिन लगाए।

नगरले गौरवको आयाेजनाका रुपमा निर्माण गर्न लागेको विकास कार्यक्रमलाई नगर प्रमुख खरेलले किन सन्त र जोगीहरूलाई जिम्मा लगाए नगरवासीले चिया पसलदेखि मलामी विश्रामलयसम्म प्रश्न गर्न थालेका छन्।

लेटाङ नगरपालिकाको वडा नं.२ मा चिसाङ गंगाघाट बनाउने भन्दै श्रीमद्भागवत महापुराण लगाउने टिमले नै मेयर खरेललाई मोहनीमा पारेको केही सामाजिक अगुवा बताउँछन्। यही टिमले विभिन्न सहरमा घाट निर्माणको सपना देखाएर नगरपालिकासँग अन्तरक्रिया गरिरहेको छ। तर वर्षायाम जलिरहेको शव खोलाले बगाउने अवस्था आइसक्दा पनि खरेल भने साधुसन्तका अघिपछि लागेर बक्रहा विष्णु गंगाघाटको सपना देखिरहेका छन्।

दोस्रो चौमासिक अव सकिँदासम्म नगरले ३४ दशमलव १ प्रतिशत मात्र खर्च गर्न सकेको छ। कुल बजेट १ अरव ११ करोड ७६ लाख ५ हजार ३९१ रुपैयाँ रहेको नगरको संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान मात्र ४० करोड १७ लाख रुपैयाँ थियो। ४० करोड १७ लाख मध्ये २६ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ, जुन खर्च सामाजिक सुरक्षा भत्ता लगायतमा खर्च भएको रकम हो।

उक्त रकम जोडेर ३४ प्रतिशत खर्च गर्ने नगरपालिकाका प्रमुख खरेलले दुई जना स्वकीय सहयोगी राखेका छन्। काम माखो नमार्ने तर, सरकारी स्रोतबाट तलव खुवाउने उनको नियतसँग कतिपय कर्मचारीसमेत दिक्दार भएका छन्।

अझ रोचक कुरा त के छ भने जग्गा प्लटिङको पृष्ठभूमिबाट उर्लाबारीमा नयाँ धनी बनेका खरेलले २०७९ फागुन ३ गते कार्यपालिकाबाट जग्गा विकास (प्लानिङ)तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका २०७९ जारी गरे। सरोकारवालासँग कुनै छलफल नगरी आफू र आफ्नो लगानीका घडेरी बिक्री गर्न सहयोग पुग्ने निर्देशिका ल्याएकोे ४१ दिन पछि उक्त निर्देशिकाको पहिलो संसोधन गराए।

खरेलले बिक्री गरेका घडेरी १४देखि १६ फिट सम्मका सडक सँग जोडिएका छन्। तर, उनले प्लानिङको घडेरीमा २० फिट भन्दा कम सडक राख्न नपाउने मापदण्ड बनाइदिएका छन्। समाचार स्रोत भन्छ– आफ्नो जग्गा व्यवसायका कोर टिमका मनोज भट्टराई,चेतन सिग्देल, प्रेमचन्द्र बाहेतीलगायतले दिएका सल्लाह अनुसार खरेलले जग्गा विकास (प्लानिङ) तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका २०७९ को पहिलो संसोधन गराएका हुन्।

आफ्नो स्वार्थमा मात्र काम गरिरहेका खरेलले कार्यकर्तालाई इन्धनको कुपन बाँड्ने कार्यमा पनि ठूलै सफलता हात पारेकाे स्थानीय बताउँछन्। सवारी साधन नभएका कतिपय कार्यकर्ताले इन्धनको कुपन लिएर बिक्री गर्ने गरेको समेत भेटिएको छ। सर्वसाधरणले निक्कै आश गरेका नगरप्रमुख खरेलको काम गराईबाट नगरवासी यति बेला दिक्क भएका छन्। नगरवासी भन्छन्– ५ वर्ष ओमशान्ति भन्दै बित्नेभयो।