अर्काकी स्वास्नी ।

  • this is image NayaNaya Khabar
  • 383 दिन अगाडि

theme

रबिना र अमर  दुवै जनाले भागी विवाह गरेका थिए । मोरङ बाट  भागेर काठमाडौंमा भाडाको कोठामा बस्न थालेका थिए । दुवैको उमेर २०/२२ को हुँदो हो । बिहेको शुरुका २ बर्ष त जसोतसो चल्यो । उनीहरूको एउटी छोरी जन्मियो । काठमाडौँको महङ्गीले बसाई दुखपूर्ण हुन थाल्यो । अभाव र कमजोर आर्थिक अवस्थाले पनि रबिना र अमर बीच दिनहुँ जसो किचलो बढ्न थालेको थियो ।  रबिनाले माइतीको सहयोगमा श्रीमानलाई बैदेशिक रोजगारमा कतार पठाइन् । आफू छोरीको रेखदेख गरेर बसिन् । अमरले रबिनाको लागि कतारबाटै एउटा स्मार्ट फोन पठाइदिएको थियो । रबिनाले घरबेटीको छोरीसँग फेसबुक खोल्न र चलाउन सिकिन् ।  

फेसबुक चलाउन थालेको केही महिना पछि उनको फेसबुकमा पनि साथीहरू धेरै हुन थाले । ती मध्ये अर्घाखाँची को केटो भुवनसँग पनि रबिनाको मित्रता भयो । फेसबुकमै भएको उनीहरूको दैनिक गफ र चिनजान फेसबुके मायाप्रीतिमा बदलिइरहेको थियो । 

आजकल यस्तै हुन्छ । कहिल्यै नदेखेको, नभेटेको मान्छेहरूबीच फेसबुकले भेट गराउँछ, परिचय गराउँछ र जोड्छ पनि । सायद फेसबुक आजकलको लमी हो कि ?! अर्काको घर बिगार्ने बैरी पो हो कि ?! यसको सदुपयोग गर्न सके परिवारका प्रियजनहरूलाई हरदिन जोड्ने पुल  पो होला ! फेसबुक, मानवले मानवकैलागि निर्माण गरेको अत्याधुनिक संचार प्रविधियुक्त हतियार न हो  । जसले यसलाई जसरी प्रयोग गर्लान् त्यस्तै प्रतिफल पाउलान् !  एका तर्फ हतियारले बनाउँछ, जोड्छ, निर्माण गर्छ, खुशी पनि दिन्छ । अर्को तर्फ बिगार्छ, छुट्याउँछ, भत्काउँछ, अथाह दु:ख र पीडा पनि निम्त्याउँछ !     

मेसेन्जरमा रबिना र भुवनको दिनहुँ गफ हुन्थ्यो । दुवैको गहिरो माया प्रेम बस्यो । भुवनसँग रबिनाको भेट भएकै थिएन । रबिनाले भुवनको केही अर्धकदका तस्बिरहरु मात्र फेसबुकमा देखेकी थिइन् । भुवनको प्रेमले रबिनालाई तानिरहेको थियो । उनी अमरलाई छोड्ने निर्णयमा पुगिन् । अमरलाई आफ्नो फेसबुक मित्रबाट हटाइन् र निषेध गरिन् । उनले छोरीलाई माइतीको जिम्मा लगाएर हिँडिन् अर्घाखाँची , भुवनसँग बिहे गर्न ।

रबिना अर्घाखाँची  पुगेर जब भुवनलाई उसकै घरमा भेटिन् तब उनी चकित भईन् । चकित दुई कुराले भएकी थिइन् । एउटा चकित पार्ने कुरा थियो, भुवनले रबिनासँगको गफमा बारम्बार आफूलाई "जमिनदारको छोरो हुँ ।" भनेको थियो तर ऊ एउटा फुसले छाएको झुपडीमा थियो । दोश्रो चकित पार्ने कुरो, रबिनाले भुवनलाई व्हिल चेयरमा देख्यो । भुवनले रबिनासँगको लामो प्रेमालापमा आफू दुवै खुट्टा नभएको अपाङ्ग हुँ  भनेर कहिल्यै भनेन । उसका दुवै खुट्टाहरु घुँडा मुनि काटिएका थिए । 

यी चकित पार्ने कुराहरु देखेर रबिना बिचलित भईन् । उनी किंङ्कर्तव्यविमूढ भईन् । उनको आँखाभरि आँशु डबडबायो र दुवै गाला हुँदै गुड्किएर झर्न थाल्यो । यो देखेर भुवनले रबिनालाई सोध्यो, " तिम्रो र मेरो यो पहिलो रोमाञ्चित भेटमै तिमी किन यति विधि बिस्मित र भएभित ? तिम्रा नयनहरू किन आँशुमा डुबे, रबिना ? म त कल्पनामा रमाईरहेको थिएँ, तिमीले मलाई देख्नासाथ अँगालोमा बाँध्छौ । तिमीले बारबार मलाई कतिखेर भेटुँ, अँगालो मारुँ र खुशी साटुँ भनेकी थियौ तर तिमी त मलाई देख्नासाथ रुन थाल्यौ, अँत्तालियौ !" 

"तिमीले मलाई धोखा दियौ, भुवन । ढाँटेर , छलेर मलाई प्रेममा फसाउनु पर्छ ? जमिनदारको छोराको घर यस्तै हुन्छ ? दुवै खुट्टा नभएको कुरा तिमीले मलाई, किन, कहिल्यै भनेनौ ? तिमी छली रहेछौ भुवन ! म स्तब्ध छु !" रबिनाले अश्रुधारा झार्दै भनिन् । 

"रबिना, तिमीले पनि श्रीमानलाई छलेर मसँग प्रेम गरेकी रहिछ्यौ । मसँग प्रेम गर्दा कहिल्यै आफू विवाहित हुँ, भन्यौ ? ४ बर्षकी छोरी छ भन्यौ ? धोखा त तिमीले पनि विदेशमा भएको आफ्नो श्रीमानलाई दियौ, नि ! तिमी पनि त छली हौ ! हामी दुवै धोखेवाज र छली, हौँ ! म पनि यो उमेर सम्म एउटी केटी नपाएर अविवाहित बसेको, मान्छे हुँ ! मेरो पनि मन छ , आफ्नै विवशता र स्वार्थ छ । मैले तिमीलाई नढाँटेको भए, सत्य बोलेको भए तिमीले कसरी मलाई प्रेम गर्थ्यौ, मसँग बिहे गर्न कसरी तयार हुन्थ्यौ ? तिमीलाई सत्य भनुँ ? प्रेम गर्दै मलाई छोड्नेहरू आधा दर्जन पुगिसके । जब मैले सत्य बताएँ अन्तिममा ती सबैले मलाई गुहु छोडे झैँ छोडे । मैले साँचो प्रेम गरेको थिएँ । जब मैले आफ्नो शारीरिक अवस्था र आर्थिक अवस्था बताएँ, मेरा कुनै पनि प्रेमीकाहरू मसँग बिहे गर्न तयार भएनन् । हार खाएर, मैले तिमीलाई चैँ झुठ बोलेकै हुँ । आफ्नो शारीरिक अपाङ्गता गोप्य राखेकै हुँ । आफू जमिनदारको छोरो हुँ, भनेकै हुँ । यदि शुरुमै तिमीले आफू विवाहित र एउटी छोरीकी आमा हुँ भनेकी भए, मैले पनि त तिमीलाई प्रेम गर्थिनँ ।"
 
भुवन एकछि मौन रहे र फेरि बोले-
"तिम्रो र मेरो विवाह हुने पक्का भएर तिमी अर्घाखाँची हिँडेपछि तिम्री घरपेटीकी छोरी बिन्दुले मलाई तिम्रो बारे सबै कुरा बताएकी थिइन् । उनकी बाआमा मेरै पूर्व छिमेकी हुन् । माओवादी द्वन्द्वकालमा उनीहरू दाङको सबै सम्पत्ति बेचेर काठमाडौँमा घर किनेर बस्न थालेका हुन् । तिमी मलाई दोषी र छली ठान्छौ । म तिमीलाई । अब भन तिम्रो र मेरो प्रेममा दोष र छल कस्को ? के प्रेम भन्ने कुरा धनाढ्य, जमिनदार र साङ्गहरूले मात्र गर्छन् ? गरिब र अपाङ्गले गर्ने प्रेम अभिशाप, अपूर्ण, असम्भव, अनैतिक वा पाप हो ? तिमी मलाई प्रेम गर्छ्यौ या मेरो धनदौलत, सुन्दर रूप, बलिष्ठ र साङ्ग शरीरलाई ? तिमी मेरो मन र भावनालाई प्रेम गर्न सक्दिनौ ? सक्छौ भने तिमी किन मेरो अपाङ्ग शरीर, मेरो झुप्रो घर देखेर रुन्छ्यौ ? जमिनदारकै छोरा नभएपनि, झुप्रो घर र अपाङ्ग शरीर भएपनि पढेलेखेकोको छु । शिक्षक हुँ । स्थायी जागिरे हुँ । महिनाको ३०-३५ हजार कमाउँछु । तिमीलाई खुशी बनाएर राख्न सक्दिन थेँ, होला र ? मेरो मनमा पनि गहिरो पीडा छ । म जन्मजात अपाङ्ग हैन । म सानै छँदा गाडिको दुर्घटनामा मैले मेरो बा र आफ्ना दुवै खुट्टा गुमाएँ । मेरा दुवै खुट्टा सिटमा च्यापिएर धुजा भएका थिए र खुट्टा काटेर , डाक्टरहरूले मलाई बचाएका थिए तर त्यसपछि मैले आफ्नो बालाई कहिल्यै देख्न पाइनँ । आमाले मलाई जसोतसो हुर्काउनु भो तर उहाँ पनि मलाई घरमा एक्लै छोडेर अर्को पुरुषसँग बिहे गरी जानु भो । आमाले मलाई छोडेर जाँदा म सिर्फ १४ बर्षको थिएँ । बाले छोडेर गएपनि मलाई जिन्दगीभर आमाको माया र शीतल छहारी चाहिएको थियो त्यसबाट पनि म बञ्चित भएँ । कयौँ दिन र रातहरू एक्लै रोएरै बिताएँ । अहिले सम्झन्छु र मन बुझाउँछु, मेरो भाग्यमै त्यस्तै लेखेको थियो होला ! अहिले ३५ बर्ष टेक्न लागिसकेँ विवाह र घरजम हुन सकेको छैन । सन्तान छैन । झुठ बोलेर कसैलाई प्रेममा फसाउनु अपराध हो, मलाई थाहा छ तर मेरो समस्याको समाधान के त ? के म अपाङ्ग भएकै कारण जीवनभर अविवाहित बसुँ ? एक, दुई सन्तान भए बुढेसकालको सहारा होला । श्रीमती भए दुखसुख बाँडिएला । रोएपनि सँगै रोऔँला, हाँसेपनि सँगै हासौँला भनेर हो, नत्र विवाह किन गर्नु पर्यो ? अब त आफैँलाई हिनताबोध हुन थालिसक्यो । यो संसारमा अरूसँगको माया र लोग्नेस्वास्नी बीचको माया, बाआमा र छोराछोरी बीचको जस्तो निस्वार्थ र निशर्त नहुने रहेछ ! तिम्रो र मेरो झुट र छलकपटले तिमी र म आफैँ अथाह संकटमा फँसिसकेका छौँ । म यस्तो मोडमा छु, न तिमीलाई स्विकार्न सक्छु न त त्याग्न सक्छु । म तिमीलाई स्विकार्न सक्दिनँ किनकी तिमी विवाहित छ्यौ । तिम्रो सानी छोरी छे । तिमीले उनलाई छोडेर हिँड्दा, दिन-रात रोईरहेकी होलिन् । तिम्रो श्रीमान् , तिमी र तिम्रै छोरीको खुशीको लागि परदेशमा पसिना चुहाउँदै छ । आफ्नाले आफ्ना माथि वा कसैले कसै माथि धोखा दिनु, महापाप हो ! मैले तिमीलाई बिहे गरेर तिम्रो श्रीमान् र छोरी माथि धोखा दिन कसैगरी हुँदैन । फेरि म तिमीलाई यस कारणले त्याग्न सक्दिनँ कि तिमीलाई मैले मन भित्रै देखि प्यार गरिसकेको छु । मेरा दुवै खुट्टा छैनन्, म अपाङ्ग हुँ त के बरबाद भयो र ? मेरो सुन्दर मन त, अपाङ्ग छैन नि !  मैले तिमीलाई झुठ बोलेर साँचो माया गरेकोमा म लज्जित छु तरपनि मैले तिमीसँग सत्य बोलेर झुठो माया त लगाइन नि ! सत्य बोल्नेहरूले पनि धोखा र छल त गरेकै छन् । सत्य बोल्नेहरूले धोखा नदिएको, छल नगरेको छ र ? नगर्ने कुनै ग्यारेण्टी छ र ? ठूला बङ्ला, कार, साङ्ग शरीर हुनेहरू हेर त घरमा श्रीमतीलाई छोडेर 'घरको दालभात मात्र कति खानु' भन्दै डान्सबार र नाइट क्लबहरुमा रात बिताउँछन् । बिचरी कलिली अन्जान छोरीलाई माइतमा छोडेर कहिल्यै नभेटेको मलाई विश्वास गरेर खोज्दै किन आयौ ? ठीक छ, दोष मेरो पनि हो र तिम्रो पनि हो तर मेरो घर, मेरो अपाङ्गता देखेर किन स्तब्ध भयौ, किन आँखाबाट सावनको बर्षा झारेर पश्चाताप र घृणाको भावले मलाई हेर्यौ ? अब त ममाथिको तिम्रो प्रेमलाई पनि म सत्य मान्न सक्दिनँ र तिम्रो श्रीमान र सानी छोरीलाई पनि म धोखा दिन सक्दिनँ । बरु जिन्दगीभर अविवाहित बसुँला तरपनि फेरि अर्को गल्ति गर्दिनँ । प्रेम प्राप्ति मात्र हैन, त्याग पनि हो भन्ने बुझेको छु । तिमी फर्क, आफ्नो घरमा । तिम्री सानी छोरी, आमा कहिले आउँछिन् भनेर बाटोभरी आँखा बिछ्याइरहेकी होलिन् । तिमीलाई खोजेर बलिन्द्रधारा रोइरहेकि होलिन्, थकित होलिन् । यो ठूलो संसारमा, तिम्री सानी छोरीको लागि तिमी नै संसार हौ । तिमी नै उनको खुशी हौ । म आफ्नो खुशी प्राप्त गर्न  र आफ्नो संसार रमाइलो बनाउन, अरूको संसार र खुशी चुँड्न चाहन्नँ । अहँ ! मेरो मन र विवेकले मान्दै मान्दैन, रबिना । मेरो एउटा झुट र एउटा सत्यताको गोप्यताले तिमी भ्रमित भयौ । यो दर्दनाक परिस्थितिको जिम्मेवार म पनि हुँ , तिमी पनि उत्तिकै हौ । हामी दुवैबाट हुनै नहुने गल्ति भएको छ । हामी दुवैको विवशता र व्यक्तिगत चाहना आफ्नो ठाउँमा छ तर फेरि पनि धर्म र नैतिकताको बाटो छोड्नु धर्मनाश र गैर जिम्मेवारी हुन्छ । अहिले सम्म केही बिग्रिएको छैन र बिगार्न पनि हुन्न । तिमी फर्क ! बरु हाम्रो बिहे गर्न मैले तिम्रो लागि किनेको गहना, कपडा र केही नगद पैसा पनि तिम्रो लागि उपहार दिएर पठाउन खुशी छु तर तिमीलाई स्वास्नी बनाएर भित्र्याउन म खुशी छैन !" भुवनले लामो श्वास तानेर खुइय गर्यो र सुनको गहना, बेहुली कपडा र केही पैसा रविनाको हातमा थमाउँदै फर्किन अनुरोध गर्यो । भुवनको अनुहार अँध्यारो र आँखा आँशुले भरिएर आँखाको डिल नाघ्न तयार थियो ।

रबिनाको मन भित्र तरङ्गका कयौँ ठूला ज्वारभाटाहरू , आँधीहरू चलिरहेको थियो । उनले उभिएको जमिन र शरीर महाभुकम्प आउनु अघि भुइँ...इँ...इँ...अँ घुमाए झैँ उनलाई लागिरहेको थियो । उनको शरीर थरथरायो । उनको काँपेको ओठ केही बोल्न खोजे झैँ लाग्थ्यो तरपनि बोली फुटिरहेको थिएन । उनी न त भुवनलाई छोडेर जान सक्थिन् न त अब भुवनलाई प्राप्त गर्न सक्थिन् । भुवनले थमाएको उपहार रबिनाको थरथराएको हातले थाम्न नसकेर भुईंमा खस्यो । रबिनालाई चक्कर लाग्यो, उनी भुइँमा लडिन् । भुवनले उनलाई प्रेमले अँगाल्न सकेन । उनलाई छुन र भुइँबाट उठाउन सकेन किनकी उनी अर्काकी स्वास्नी थिइन् ।