कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था गरेका छौं बबिकुमार राई (अध्यक्ष, मिक्लाजुङ गाउँपालिका मोरङ)

  • this is image NayaNaya Khabar
  • 153 दिन अगाडि

theme

उत्तर पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिकामा साल फूल्ने तराई देखि गुराँस फूल्ने लेकसम्मको भूगोल समेटिएको छ । साविकका रमितेखोला,टाँडी गाविस पुरै ,मधुमल्ला गाविसका १–६ वटा वडा  र जाँते गाविसका ३ र ४ नं.वडा मिलाएर मिक्लाजुङ गाउँपालिकाको गठन भएको हो । कृषि,पर्यटन र प्राकृतिक स्रोतको उपयोगलाई आन्तरिक आयको प्रमुख स्रोत बनाएको यो गाउँपालिका मोरङमा सबैभन्दा धेरै आन्तरिक आम्दानी गर्ने गाउँपालिका मानिन्छ ।२०७९ को निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष बबिकुमार राईसँग पछिल्ला दुई वर्षमा भएका बिकास गतिविधिका विषयमा कुराकानि ।
० तपाई निर्वाचित भएर आएपछि गाउँपालिकामा भएका प्रमुख कामहरू के के हुन् ? 
१)– मिक्लाजुङ गाउँपालिकाका थोरै तराई र धेरै पहाडी भूगोल भएको पालिका हो । हाम्रो पालिका भित्रको भूगोल विषम छ । खोलानाला धेरै छन् । पालिकाको केन्द्र रहेको मधुमल्ला बजारसँग जोड्ने सडकहरू थिएनन् । अपुरा सडक र पुल कल्भर्टहरू सबै बनिसकेका छन् । बाह्रै महिना चिसो हुने पर्यटकीय केन्द्रहरू टेण्टटाउन,झण्डाडाँडा,लेकडाँडा र रमितेबजार सम्म पुग्ने सडक बनिसकेको छ । स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौं । मधुमल्ला अस्पताल गाउँपालिकाकै खर्चमा सञ्चालन भइरहेको छ । अस्पताल मात्र होइन , एकजना विशेष चिकित्सक र एक जना मेडिकल अधिकृतले सेवा दिइरहनु भएको छ । गाउँपालिकाका कुनै अस्पतालले ल्याउन नसकेको विरामीको रोग निदानका लागि अत्याधुनिक ल्याव मेसिन प्रयोग गरेका छौं । हाम्रै अस्पतालमा थाइराइड,पाठेघरको क्यान्सर,भिटामिन (डि )जस्ता रोगको परीक्षण गर्ने ऋीक्ष्ब् मेसिन प्रयोग गरेका छौं । मेसिन मात्र होइन । क्ःीत् उत्तीर्ण गरेका जनशक्ति ल्यावमा राखेका छौं । मिक्लुखोला,सफेवा खोलामा पुल बनिसकेका छन् ।  मगर खोलामा पुल निर्माणधीन छ । झण्डै २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सोल्टी खोलाको पुल ठेक्का लागि सकेको छ । हामीले कक्षा १२ को परीक्षा केन्द्र मिक्लाजुङमा नै स्वीकृत गराएका छौं । १ करोड २५ लाख रुपियाँको लागतमा शीत भण्डार निर्माणको सम्झौता भइसकेको छ । यो गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण हुन लागेको हो । गाउँपालिकाको प्रशासनिक भबन निर्माण सम्पन्न भएको छ । विश्व शान्ति भवन निर्माण गरेका छौं । मावा नुनसरी खोलामा डेढ किमी तटबन्ध गरिएको छ ।
२) मिक्लाजुङ गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउने आधारहरू के के हुन् ?
मिक्लाजुङ गाउँपालिकाको भूगोल विचित्रको छ । गुराँस फूल्ने पहाड र साल फूल्ने तराई बिचको भूमि हो हाम्रो पालिका । झण्डै ७० प्रतिशत भूगोल पहाडभित्र पर्छ । पालिकाको केन्द्रबाट २० मिनेट उकालो लागेपछि चिसो हावापानी भेटिन्छ । बाह्रै महिना चिसो हुने पर्यटकीय केन्द्रहरू टेण्टटाउन,झण्डाडाँडा,लेकडाँडा र रमितेबजारमा पर्यटकको आकर्षण बढेको छ । पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न पालिकाले त्यहाँसम्म सडक पु¥याएको छ । केरा उत्पादनका लागि रमिते, टाडी क्षेत्र प्रख्यात छन् । वार्षिक करोडौंको केरा निर्यात भइरहेको छ । अम्लिसो, अदुवा,आलु र फलफूल उत्पादनको उत्तिकै सम्भावना छ । उत्पादनलाई भण्डारका लागि नै हामीले कसैको मुख नताकि शीत भण्डार निर्माण गर्न लागेका हौं । बाँस प्रसस्त उत्पादन हुने भएकोले बाँसजन्य घरेलु उद्योग सञ्चालन गर्न सकिन्छ । पर्यटन र कृषि उत्पादनबाट नै मिक्लाजुङ गाउँपालिकालाई समृद्ध पालिका बनाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ ।
० मिक्लाजुङ गाउँपालिका आन्तरिक आर्थिक स्रोत मजवुद भएको पालिका भित्र पर्छ । पालिकामा मानव संसाधन,कृषि, पशुपालन र शिक्षा क्षेत्रमा के के काम भएका छन् ?
– मिक्लाजुङ सामूदायिक क्याम्पसमा पढ्ने सबै विद्यार्थीले निशुल्क पढ्न पाउने ब्यवस्था मिलाएका छौं । हाललाई बीबीएसको मात्र पढाइ भइरहेको क्याम्पसमा थप बिषय अध्यापनको अध्ययन भइरहेको छ । कक्षा ११ र १२ मा बिज्ञान विषयको अध्ययन सुरु गरेका छौं । पालिकामा पैसा नभएर पढ्न पाइन भन्ने अन्त्य भएको छ । स्थानीय स्तरमा वडा र नगरले सबै समूदाय वर्ग र पेशामा आवद्धहरूलाई सीपमुलक तालिमको प्रबन्ध गरेको छ। पालिकाका हरेक किसान कुनै न कुनै कार्यक्रममा स्थानीय सरकारसँग जोडिउन भनेर किसानलाई तालिम, बीउ बितरण,कृषि यन्त्र, उपकरण बितरण गरेका छौं । पशुपालनका क्षेत्रमा नियमित खोप,महामारी नियन्त्रण, कृत्रिम गर्भाधान सेवा , घर घरमा पशु चिकित्सको सेवा  दिइरहेका छौं । गाउँपालिकामा पशु डाक्टर नै राखेर सेवा दिइरहेका छौं । 
० पालिकाको आन्तरिक स्रोतको अवस्था कस्तो छ ? 
हाम्रो पालिका मोरङ मै आन्तरिक आयमा अब्बल पालिका भित्र पर्छ । चालु आवमा ५७ करोड बजेट मध्ये आन्तरिक स्रोतको हिस्सा ३१ प्रतिशत रहेको छ । गत आवमा ९ करोड ८५ लाख ६५ हजार रुपियाँ आन्तरिक आय सङ्कलन भएको थियो । खोला ठेक्का ,जिल्ला कै पुरानो मधुमल्ला बजार ठेक्का,सामूदायिकबनले आफ्नो आम्दानीको १० प्रतिशत दिने रकम, जडिबुटी निकासी लगायतका थुप्रै आन्तरिक स्रोतहरू पालिकासँग रहेका छन् । पालिकाले अघिल्लो आवको तुलनामा आन्तरिक आय ३९ प्रतिशतले बृद्धि गरेको छ । 
० ठूला आयोजनाहरू के के छन् । जुन स्थानीय स्रोतबाट सम्पन्न गर्न सकिने अवस्था छैन् ?
– पालिकाको गौरवको आयोजना रमितेमा पर्यटन पूर्वाधार निर्माण हो । हालसम्म जे जति काम भएको छ । त्यो स्थानीय र पालिकाको प्रयास हो । जसरी भेडेटारमा पूर्वाधार निर्माण भए त्यसरी नै यहाँ पनि निर्माण हुने हो भने पहाडबाट बसाई सर्ने सङ्ख्या नियन्त्रण गर्न सकिन्थ्यो ।रोजगार सिर्जना हुन्थ्यो । बक्राहा, मावा , नूनसरी खोलामा दीगो तटबन्ध आवश्यक छ । बर्सेनि कटानको समस्याले सयौं रोपनी जग्गा बगाएको छ । पालिकाको केन्द्रबाट सबै वडा पुग्ने कच्ची सडक बन्यो । तर, कालोपत्रे सडक निर्माण गर्न पालिकाको स्रोतले भ्याउने अवस्था छैन् । 
० पालिकाका प्रमुख चुनौति के के छन् । 
– मुख्य चुनौति दिगो आन्तरिक स्रोत नै हो । नागरिकका अपेक्षा धेरै छन् । तर, साधन र स्रोत सिमित छ ।खोलाको कटान रोक्ने अर्को चुनौति छ । जङ्गली जनावरबाट हुने क्षति पनि डरलाग्दो छ । पालिकाको वडा नं. १ स्थित एकराते भन्ने ठाउँसम्म अझै कच्ची सडक पुगेको छैन् । जौवारीबाट दुई घण्टा हिडेर एकराते पुग्नुपर्छ । मोरङमा सडक नपुगेको गाउँ छ भन्दा काठमाडौंका मात्र होइन । बिराटनगरका मानिस पनि पत्याउँदैनन । तर,मधुमल्लाबाट ३२ किलोमिटर उत्तर जौबारीसम्म गाडीमा गएर दुई घण्टा हिडेर पुग्नुपर्ने गाउँ हाम्रै पालिकामा छ । पाँचथर, धनकुटा ,इलाम,झापा जिल्लालाई छोएको मिक्लाजुङ गाउँपालिका स्रोत र साधनले पूर्ण भएपनि धेरै चुनौतिका कारण उपयोगमा समस्या भइरहेको छ । 
० मिक्लाजुङ गाउँपालिकाबाट देशका अरु पालिकाले सिक्नु पर्ने केही छ ?
– मैले अघि नै भनिसकें । स्नातक तहसम्मको निशुल्क शिक्षा हामीले दिएका छौं । पालिकाकै अस्पतालमा क्यान्सर रोगको परीक्षण गर्ने ब्यवस्था गरेका छौं । गाउँपालिकामा बाल अस्पताल निर्माण गरेका छौं । डाक्टर सहितको टोलीले घर घरमा पुगेर पशुको निशुल्क  स्वास्थ्य परीक्षण गर्ने र औषधि दिने ब्यवस्था मिलाएका छौं । दुई रोपनी भन्दा बढी अकबरे खोर्सानीको खेती गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान दिन थालिएको छ । यस्तै सरकारले बालबालिकालाई दिएको खाजा खर्चमा ५ रुपियाँ थप गरिदिएका छौं । दूग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप नगद अनुदान दिने ब्यवस्था गरेका छौं । 
० केही छुट्यो कि ? 
हामीले ५६ जनालाई धनीपुर्जा वितरण गरेका छौं । कृषि,पशुपालन र पर्यटन क्षेत्रको बिकास गर्न सक्ने हो भने मिक्लाजुङ गाउँपालिका अबको डेढ दशक पछि आत्मनिर्भर बन्न सक्ने अनुमान गर्न सकिन्छ । स्रोतका हिसाबले उत्तरी मोरङ धनी छ । तर, सडक ,पूर्वाधार र बजारको अभावमा उत्पादन अझै पनि कुहिने अवस्था छ । स्थानीय स्रोतबाट धेरै काम भएका छन् । यद्यपि अझै धेरै गर्न बाँकी छ ।

छुटाउनुभयो कि ?