कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,

  • this is image NayaNaya Khabar
  • 218 दिन अगाडि

theme

कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
१ लाख ७५ हजार विद्यार्थीको पढाइ प्रभावित
विराटनगर । शिक्षकहरू आन्दोलनमा गएपछि कोशी प्रदेशका ५ हजार ३ सय ९३ विद्यालय बन्द भएका छन् । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि प्रदेशका सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएको हो । आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पनि कक्षा बहिस्कार गरेपछि सामुदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन ।
आन्दोलनमा नगएका शिक्षकहरू विद्यालयमा गए पनि हाजिरी गरेका छैनन् । उनीहरूले सादा कपीमा उपस्थिति गरेका छन् । शिक्षकहरूको आन्दोलन र विद्यालय बन्दको हल्लाले गर्दा विद्यार्थीहरू समेत नआएको विद्यालय व्यवस्थापन समितिहरूले बताएका छन् । इटहरी स्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले विद्यालयमा पठन पाठन नभएको बताए । उनले शिक्षकहरूले नपढाएका कारण विद्यालय सञ्चालन हुन नसकेको जानकारी दिए । उनले भने, शिक्षक साथीहरू विद्यालय आउनु भएको छ ।आन्दोलन चलिरहेको भन्दै नपढाएपछि कक्षा सुचारु हुन सकेन । सुनसरीको इनरुवा स्थित सरस्वती माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले विद्यालयमा पठन पाठन नभएको बताए । शिक्षकहरूले नपढाएका कारण विद्यालय आएका विद्यार्थी समेत फर्किएको यादवले बताए । 
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश शैक्षिक योजना, तथा अनुसन्धान शाखाका प्रमुख यादवप्रसाद दुलालले प्रदेशमा रहेका सामुदायिक विद्यालयमा पठन पाठन भएको जानकारी नआएको बताए । उनले भने अहिले सम्म कुनै पनि विद्यालयमा पठन पाठन भएको जानकारी मन्त्रालयमा आएको छैन । सूचना नै निकालेर विद्यालय बन्दको आव्हान भएका कारण पठन पाठन प्रभावित भएको छ । 
मन्त्रालयका अनुसार प्रदेशमा ५ हजार ३९३ वटा सामुदायिक विद्यालय छन् ।कोशी प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी १६ हजार ६५७ र राहत अनुदान शिक्षकको सङ्ख्या ३ हजार ८ सय ४० रहेको छ । सामुदायिक विद्यालयमा एक लाख ७५ हजार विद्यार्थी अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।