समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका

  • this is image NayaNaya Khabar
  • 312 दिन अगाडि

theme

मधुमल्ला । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविक रमितेखोला, जाँतेको ३ र ४, मधुमल्लाको १,२, ३, ४, ५, ६ र टाँडी गाउँ विकास समितिहरूलाई समेटेर मिक्लाजुङ गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या ३३१६७ रहेको छ । यसको क्षेत्रफल १५८.९८ वर्गकिलोमिटर रहेको छ । 
मिक्लाजुङ गाउँपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्दछ । यसको पूर्वतर्फ ईलाम र झापा जिल्ला, पश्चिमतर्फ लेटाङ नगरपालिका, उत्तरतर्फ धनकुटा र पाँचथर जिल्ला र दक्षिणतर्फ उर्लाबारी नगरपालिका रहेको छ । २०७३ सालमा गाउँपालिका निर्माणका क्रममा साबिकको रमितेखोला गाविसलाई यसको वडा नं १, टांडी गाबिसका १, ६ र ७ नं. वडालाई यसको वडा नं. २ बनाइएको छ । यसैगरी टांडीका वडा नं. २,८ र ९ लाई यसको वडा नं. ३ तथा टांडीका वडा नं. ३,४ र ५ लाई यसको वडा नं. ४ कायम गरिएको छ । नया संरचनामा जाँते गाविसको वडा नं. ३ र ४ लाई यसको वडा नं. ५ तथा मधुमल्ला गाविसका ४ र ५ नं. वडालाई यसको वडा नं. ६ बनाईएको हो । यसैगरि मधुमल्ला गाविसका वडा नं. २ लाई यसको वडा नं. ७ , वडा नं. ३ लाई ८ तथा १ र ६ लाई वडा नं. ९ कायम गरिएको छ । यसरी उत्तरपूर्वी मोरङका यी चारवटा गाविसलाई मिलाएर  मिक्लाजुङ गाउँपालिका बनाईएको छ । यस गाउँपालिकाको नाम भने गाउँपालिकाको उत्तरमा रहेको मोरङको सबैभन्दा अग्लो पहाड मिक्लाजुङको नामका आधारमा राखिएको हो । यस गाउँपालिकामा कृषियोग्य  जमिन २६२० हेक्टर छ । 
मोरङको मिक्लाजुङ गाउँपालिकामा वनक्षेत्र निकै रहेको हुनाले यहाँ जंगली जनावर पनि प्रशस्तै पाईने गरेको छ । यहाँ विभिन्न प्रकारका जिवजन्तु र चराचुरुंगीहरु पाइन्छन् । मृग, खरायो, स्याल, मल्सांप्रो,ढेडु, बाँदर, लोखर्के र दुम्सी जस्ता जनवारहरु, विभिन्न प्रकारका चराचुरुंगीहरु र किटपतंगहरु यस भेगमा पाइन्छन् । पुतली, कमिला, धमिरा, साप, अजिङ्गर, छेपारो र अन्य प्रकारका किरामिराका साथमा अनेक जडिबुटी पनि यहाँको वन क्षेत्रमा पाइने गर्दछन् । यसरी मिक्लाजुङ गाउँपालिका जीवजन्तुका दृष्टिले निकै महत्वपूर्ण छ । मिक्लाजुङ गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा मिक्लाजुङ डाँडा, चुली पोखरी, मिक्लुबेतेनी, नेसेलुंग डाँडा आदि पर्दछन् । दोस्रो कार्यकालमा लागि जनप्रतिनिधि आएपछि यहाँको विकासले गति लिएको छ । सडकहरु तीब्र गतिमा निर्माण भइरहेका छन् । विगतमा मिक्लाजुङ गाउँपालिकाका दुर्गम भनिएको टाँडी, रमितेखोला, मधुमल्लामा सडक आयोजनाहरु धमाधम निर्माण भइरहेका छन् ।
साँघुरा र अप्ठ्यारा बाटो तथा सडकहरु ठूला र सजिला भएका छन् । गाउँपालिकाको आफ्नै पहलमा कतिपय सडक कालोपत्रे गरिएको छ । कतिपय प्रदेश र संघीय सरकारका आयोजना त्यहाँ विकास निर्माणका काम भएका छन् । खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम भएका छन् । सयौं वर्षौदेखिको सपनाको रुपमा रहेको कतिपय पुलपुलेसा तथा सिंचाई र खानेपानी आयोजना पनि त्यहाँ बनिरहेका छन् । त्यहाँका किसान व्यवसायिक खेती प्रणालीमा विस्तारै अभ्यस्त हुँदैछन् । यसअर्थ मिक्लाजुङमा विकासको मुल फुटिरहेको छ र समृद्धिको पथमा निरन्तर दौडिरहेको छ । विकास निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताउनुभयो । जनप्रतिनिधिहरुको एउटै मिसन समृद्ध मिक्लाजुङ बनाउने संकल्पका साथ लागि परेको उहाँको भनाई छ । 
मिक्लाजुङको विकाससँगसँगै पर्यटन, कृषि, सामाजिक विकासलगायत गतिबिधिमा पनि गाउँपालिकाले भूमिका खेलिरहेको उपाध्यक्ष दिनेश पौडेलले बताउनुभयो । जनताका हरेक समस्यामा जनप्रतिनिधि सारथी बन्ने प्रयासमा रहेको उहाँको भनाई छ । मिक्लाजुङ गाउँपालिकासँगै ९ वटै वडाले पनि विकास निर्माण तीब्र गतिमा अघि बढाएका छन् ।