झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँदै

  • this is image NayaNaya Khabar
  • 658 दिन अगाडि

theme

बैशाख झापा,बिर्तामोड-१० सैनिक बजार क्षेत्र फूटबलको भिन्नै इतिहास बोकेको क्षेत्र हो। यहाँबाट राष्ट्रिय देखि स्थानिय स्तरका फूटबल स्टारहरुको जन्म भै सकेको छ। आजपनि यो क्षेत्र फूटबल संग पहिचान बनाउन उत्तिकै लागि परेको क्षेत्र हो। बेला बेलामा यहाँ फूटबलका कार्यक्रम आयोजना भैरहेको छ। यस्तैमा नयाँ बर्ष २०८० को आगमन संगै बिर्तामोड-१० अल इन वान क्लबको आयोजनामा महेन्द्र ज्योति माबि सैनिक बजारको खेल मैदानमा बैशाख ९ बाट प्रथम प्रदेश स्तरिय महिला गोल्डकप आयोजना गरिने आयोजक अल इन वानका अध्यक्ष कृष्ण योञ्जनले पत्रकार सम्मेलन मार्फत आज जानकारी गराउनु भयो। क्लबको आयोजनामा प्रथम पटक प्रदेश स्तरिय महिला गोल्ड कप आयोजना हुनलागेको हो भने झापा जिल्ला भित्र भने यो महिला फुटबल आयोजना गर्न लागिएको दोश्रो पटक भएको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले जानकारी दिनु भयो। कूल अनुमानित खर्च चौध लाख बयालिस हजार खर्च हुने गोल्डकपमा कोशी प्रदेश बाट सात वटा र मधेश प्रदेश बाट एक वटा गरि जम्माआठ वटा टिमको सहभागिता रहने जनाईएको छ। जसमा आयोजकको तर्फ बाट भने झापा साथै अन्य मोरङ्ग,सुनसरी,इलाम,ताप्लेजुङ्ग, उदयपुर, सप्तरी,धनकुटाका महिला फुटबल टिमको सहभागिता रहने जनाईएको हो । बिजेता टिमले रु. दुई लाख दुई हजार नगद ट्रफि मेडल, र उपबिजेता टिमले एकलाख एक हजार नगद साथै ट्रफि र मेडल प्राप्त गर्नेछन् त्यसै गरि मेन अफ दि म्याचले क्रमशः दैनिक तीन हजार,चार हजार र फाईनलमा पाँच हजारका दरले प्रति म्याच प्रदान गरिने आयोजकका बिमल कान्छा राईले जानकारी दिनु भयो। बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्गले अतिथि खेलाडी,दर्शकहरुको सुबिधाको लागि भौतिक तथा अन्य सुबिधामा वडाको तर्फबाट खेल अवधि भरि पुरयाउनु पर्ने सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुका साथै यो गोल्डकप वडाको पनि प्रतिष्ठाको बिषय भएको धारणा राख्नु भयो। आयोजकका अनुसार उद्घाटन खेल ९ गते आयोजक अलइन वान क्लब झापा र डि डब्लु पि सी धरान,१० गते मिक्लाजुङ्ग गा. पा. मोरङ्ग र महमाई एकता क्लब इलाम,११ गते नमो: बुद्ध यूथ क्लब सप्तरी र ताप्लेजुङ्ग महिला फूटबल टिम,१२ गते गाईघाट फूटबल क्लब उदयपुर र धनकुटा महिला फूटबल संघ बिच खेल हुनेछ । त्यसै गरि १३ र १४ गते छनोट टिमबाट सेमिफाईनल खेल र १५ गते होल्डको दिन बिर्तामोड-१० वडा भित्रका महिला माझ चार किलो मिटर प्रतियोगितात्मक महिला म्याराथुन आयोजना गरि १६ गते फूटबल फाइनल खेल हुने जानकारी गराईएको छ।

बिर्तामोड नगर खेलकुद उपाध्यक्ष सन्तोष गुरुङ्ग,बिर्तामोड-१० वडा सदस्य धनमाया श्रेष्ठ, पृथ्वी बस्नेत, समाजसेवी कृष्ण बिमली, बिशाल राई लगायत उपस्थित रहेको पत्रकार सम्मेलनको अध्यक्षता अल इन वान क्लबका अध्यक्ष कृष्ण योञ्जनले गर्नु भएको थियो भने संचालन सचिब रोशन खरेलले गरेका थिए। बिर्तामोड-१० सैनिक बजार भू.पू. राष्ट्रिय फुटबल खेलाडी रामदर्शन गुरुङ्ग र हालका राष्ट्रिय फुटबल प्रशिक्षक प्रवेश कटुवालको जन्म थलो हो। कार्यक्रममा गोल्डकप संचालनको तयारी पूरा भएको जनाइएको छ ।