पर्यटन क्षेत्रको प्रवर्धनमा सरकार सदैव साथ छ: मा. योगेश भट्टराई

काठमाडाैं – धौलागिरी समाज नेपाल, धौलागिरी पर्यटन प्रवर्धन समितिले मंगलबार माननीय संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरी धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धन सम्बन्धी लिखित सुझावहरु पेश गरेको छ । भेटघाट कार्यक्रमको नेतृत्व धौलागिरी समाज नेपालका अध्यक्ष श्री खिमानन्द कँडेलज्यूले गर्नुभएको थियो भने भेटघाटमा सगरमाथा आरोही पर्यटन अभियन्ता एवं नेकपाका केन्द्रीय सदस्य कृष्ण केसी, बागलुङ जिल्लाको पर्यटन प्रवर्धनमा लागिरहनु भएका किरण थापा, इन्दिरा लामिछाने, कृष्ण पुन मगर, प्रेम बहादुर श्रीस राना, रोशन पुन, आकाश चन्द्र सुनुवार लगायतको सहभागिता रहेको थियो ।

मा. मन्त्रीज्यू समक्ष धौलागिरीकाे पर्यटन प्रवर्धनका बारेमा सुझाव पेश गर्दै पर्यटन अभियन्ता कृष्ण के.सी.

लिखित सुझावहरु पेश गर्दै धौलागिरी पर्यटन प्रवर्धन समितिका अध्यक्ष श्री खिमानन्द कँडेलज्यूले नेपालका स्थापित पर्यटकीय गन्तव्यहरु पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्र अन्तर्गत बागलुङ एवं आसपासका जिल्लाहरुको पर्यटन प्रवर्धन गर्नको लागि यस क्षेत्रमा संघीय सरकारले नेपाल पर्यटन बोर्ड मार्फत विशेष कार्यक्रम संचालन गर्नुपर्ने, दामोदरकुण्ड मुक्तिनाथ देखि गजेन्द्र मोक्षधाम नवलपरासीसम्मको कालीगण्डकी क्षेत्रमा भएका धार्मिक पर्यटकीय स्थलहरु एवं यस क्षेत्रमा धार्मिक पूर्वाधारहरुको विकास गर्दै कालीगण्डकी नदी क्षेत्रको संरक्षणको लागि कालीगण्डकी सभ्यता प्रवर्धन विकास समिति संघीय सरकारले गठन गर्ने एवं बागलुङ, पर्वत, म्याग्दी, गुल्मी लगायत ढोरपाटनसँग जोडिएका विभिन्न जिल्लाहरुको पर्यटन प्रवर्धन गर्न राष्ट्रिय कार्यक्रम सहित वृहत ढोरपाटन क्षेत्र प्रवर्धन विकास समिति संघीय सरकारले गठन गर्नको लागि माननीय मन्त्रीज्यूलाई सुझाव दिनुभएको थियो ।

मा. मन्त्रीज्यूसँग धौलागिरीकाे पर्यटन प्रवर्धन सम्बन्धी छलफलपछि सामूहिक तस्वीरमा पर्यटन अभियन्ताहरू
मा. मन्त्रीज्यूसँग धौलागिरीकाे पर्यटन प्रवर्धन सम्बन्धी छलफलपछि सामूहिक तस्वीरमा पर्यटन अभियन्ताहरू

यसै गरी कालिका भगवती मन्दिर, बागलुङ बजार, शालिग्राम संग्रहालय, सर्वसिद्धिधाम पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, बेलढुंगा स्वर्गाश्रम धम्जा, झुलेनीको धुरी, शिवधुरी, विहुँकोट रामकोट घोडावाँधे, थामनेटा, गाजादह धुरी, रेश एवं सिगानाको धुरी, भकुण्डे, भैरवस्थान मन्दिर, बलेवा एअरपोर्ट, बन्दै गरेको कालीगण्डकी नदी माथिको बन्जी जम्प, कुश्मा बजार, गुप्तेश्वर गुफा, सहश्रधारा हुँदै कालिका भगवती मन्दिर क्षेत्र अन्तर्गत रहेको झण्डै १०० किलोमिटर भन्दा लामो धौलागिरी क्षेत्र भित्रको व्यापक संभावना बोेकेको पर्वतमालालाई धौलागिरी चक्रीय पदमार्गको रुपमा विकास गर्न समेत अनुरोध गर्नुभएको थियो ।

धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धनको लागि धौलागिरी चक्रीय पदमार्गलाई राष्ट्रिय कार्यक्रमको रुपमा संघीय सरकारले राख्दा एवं कालीगण्डकी क्षेत्र एवं ढोरपाटन क्षेत्रमा व्यापक पर्यटन पूर्वाधारहरुको निर्माण एवं विकासको लागि सगरमाथा आरोही पर्यटन अभियन्ता एवं नेकपा केन्द्रीय सदस्य श्री कृष्ण केसीज्यूले माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्नुभएको थियो ।

यसै क्रममा माननीय मन्त्रीज्यूले पर्यटन प्रवर्धनका रचनात्मक एजेण्डाहरुमा मन्त्रालय सधैं सकरात्मक रहेको प्रष्ट पार्दै बागलुङ जिल्ला एवं धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धनका स्पष्ट एजेण्डाहरु सहित मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका अगुवाहरु सहितको विशेष छलफलको लागि आफू सधैं तयार रहेको जानकारी दिनुभएको थियो ।

(१) आर्थिक बर्ष २०७६/७७ को लागि मन्त्रालयबाट उत्कृष्ट पर्यटकीय गन्तव्यहरु एवं थप पूर्वाधारहरु निर्माणको लागि जिल्लाहरुमा गएको बजेट समयमा नै सम्बन्धित स्थानीय सरकार एवं स्थानीय समुदायहरु मार्फत कार्यान्वयनको लागि मन्त्रालयले कदम चाल्नु आवश्यक छ । अधिकांश स्थानमा निश्चित प्रस्ताब बिना नै उत्कृष्ट पर्यटकीय स्थलहरुमा बजेट गएकोले अबिलम्ब मन्त्रालयले दिने बजेट खर्च गरिने विस्तृत प्रस्ताव समेत सम्बन्धित स्थानीय सरकारहरुबाट माग गरी काम गर्नु उपयुक्त देखिन्छ । यस बिषयमा मन्त्रालयको ध्यानाकर्षण गर्दछौं ।

(२) पर्यटकीय स्थलहरुमा व्यापक पूर्वाधारहरुको निर्माणमा गएको बजेट एक पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थल जोड्ने पैदल मार्ग निर्माण, ठाउँ ठाउँमा व्यवस्थित नमूना पार्क निर्माण, धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरुको संरक्षण लगायतका पूर्वाधारमा निर्माण गर्न मन्त्रालयले निरन्तर रचनात्मक भूमिका खेल्नु आवश्यक देखिन्छ ।

(३) नेपाल पर्यटन बोर्डबाट बिनियोजन हुने बजेट पर्यटनको व्यापक संभावना बोकेका जिल्लाहरु र नर्या पर्यटकीय गन्तव्यहरुको बिकासमा उपयोग गर्ने नीति सरकारले लिँदै पर्यटन पूर्वाधारहरुको विकासमा न्यायको सिद्धान्त सरकारले अबलम्बन गर्नु आजको आवश्यकता हो । नेपाल पर्यटन बोर्डबाट नितान्त पहुँचको आधारमा बजेट बिनियोजन हुने गरेको देखिएकोले माननीय मन्त्री ज्यूको कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नेपाल पर्यटन बोर्डबाट बिनियोजन हुने बजेट न्यायोचित ढंगबाट विनियोजन गरी नयाँ संभावना बोकेका पर्यटन गन्तव्यहरुको बिकासमा समेत सरकार लाग्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।

(४) पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्रबीचको क्षेत्रको तीव्र पर्यटन पूर्वाधारहरुको विकासको लागि विशेष पर्यटन विकास समिति गठन गरी काम गर्न हामी मन्त्रालय समक्ष निवेदन गर्दछौं । यसबाट बागलुङ, म्याग्दी, पर्वत, गुल्मी लगायतका जिल्लाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

(५) कालीगण्डकी नदी क्षेत्रको धार्मिक महत्वलाई व्यापक प्रचार प्रसार गर्दै यस क्षेत्रमा व्यापक धार्मिक पर्यटकीय पूर्वाधारहरुको निर्माण, विशाल पार्कहरुको निर्माण, र्याफ्टिङ, शाहसिक पर्यटन जस्ता क्षेत्रमा लगानी गर्ने बातावरणको लागि मन्त्रालयले विशेष पहल गर्नु आवश्यक देखिन्छ ।

(६) बागलुङ देखि ढोरपाटन एवं अन्य पर्यटकीय गन्तव्यहरुलाई लक्षित गर्दै प्रशस्त पर्यटकीय पैदल मार्गहरु निर्माण गर्न सकिने संभावना रहेको, संभावित पैदल मार्गहरुको प्रारम्भिक पहिचान समेत भैसकेकोले यस्ता पर्यटकीय पैदल मार्गहरु निर्माणको लागि प्रयाप्त बजेट बिनियोजन गर्नको लागि मन्त्रालय समक्ष जोडदार माग गर्दछौं ।

(७) म्याग्दीको गलेश्वर, सिंगा तातोपानी, स्वर्गाश्रम, बेलढुंगा, झुलेनी, शिवधुरी, त्रिपुरेश्वर महादेव मन्दिर/विहुँकोट, कालिका भगवती मन्दिर, शालिग्राम संग्राहलय कुँडुले र पञ्चकोट सर्वसिद्धिधाम बानपालाई धार्मिक पर्यटकीय चक्रपथको रुपमा घोषणा गरेर मुस्ताङको यात्रा गरी फर्कने पर्यटकहरुलाई यस क्षेत्रमा आकर्षित गर्न अभियान संचालन गर्नु आवश्यक देखिन्छ । 

(८) नेपालकै प्रसिद्ध पर्यटकीय स्थल पञ्चकोट देखि संसारकोट, धम्जा बेलढुंगा, झुलेनी, विहुँकोट क्षेत्र, गाजादह, रेश, भकुण्डे, बलेवा भैरवस्थान, कुश्मा, बागलुङ भगवती मन्दिरसम्मको क्षेत्रलाई समेटेर नेपालकै नमूना पर्यटकीय पैदल मार्ग निर्माण गर्न सकिने संभावना रहेको छ । 

(९) दक्षिण बागलुङ अन्र्तगत रहेका जैमिनीधाम, हाँडिकोट, थन्थापमाई, बरेङ लगायतको क्षेत्रमा पनि पर्यटनको क्षेत्रमा उल्लेख्य कामहरु अगाडि बढेका छन् । यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि समेत संघीय सरकारको तर्फबाट विशेष पहल गर्नु आवश्यक छ ।

(१०) बागलुङ र म्याग्दी जिल्लाको सिमाना भएर प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोट बेलढुंगा, झुलेनी, शिवधुरी, हरिचौर, घुम्टेको धुरी सम्म पैदल मार्गको निर्माण गर्न सकिने अवस्था बन्दै गएको छ ।

(११) बागलुङको गल्कोट क्षेत्रले पर्यटन प्रवद्र्धनको क्षेत्रमा रचनात्मक कार्य गरिरहेको छ । बागलुङ जिल्ला अन्र्तगत गल्कोटको शीरमा रहेको घुम्टेलाई अबिलम्ब नेपालका उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गर्न हामी मन्त्रालय समक्ष जोडदार माग गर्दछौं ।

(१२) आर्थिक बर्ष २०७५/७६ मा गण्डकी प्रदेश सरकारले झण्डै २०० वटा सामुदायिक होम स्टेहरुमा पर्यटन पूर्वाधारहरुको निर्माण गरेको छ । संघीय सरकारको तर्फबाट पनि यस्ता सामुदायिक होम स्टे क्षेत्रहरुमा पर्यटन पूर्वाधार निर्माणको लागि थप बजेट बिनियोजन गरी संघीय सरकार समेत स्थानीय जनताहरुसँगै रहेको स्पष्ट सन्देश दिनु आवश्यक छ ।

(१३) हालै मात्र गण्डकी प्रदेश सरकारले उत्कृष्ठ ११० गन्तव्यको सूचीमा राखेका पर्यटकीय गन्तव्य एवं क्षेत्रहरुको विकासमा संघीय सरकारको तर्फबाट समेत पर्यटन पूर्वाधारहरुको विकासमा साझेदारी गर्नु आवश्यक देखिन्छ ।

(१४) यस क्षेत्रको पर्यटन पूर्वाधारहरुको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिन सक्ने संभावनालाई कार्यान्वयन गराउन संघीय सरकारले रचनात्मक भूमिका खेल्नु आवश्यक देखिन्छ ।

(१५) ढोरपाटन एवं आसपासको क्षेत्रलाई समेटेर पर्यटन सम्बन्धी राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि हामी जोडदार माग गर्दछौं । ढोरपाटन क्षेत्रको विकासले नेपालको पर्यटन उद्योगलाई पश्चिम नेपालसम्म फैलाउन विशेष भूमिका खेल्ने व्यापक संभावना रहेको छ ।

(१६) दशकौं देखि निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ बजार देखि पहिलो २४ किलोमिटर खण्ड अझै कालोपत्रै हुन सकेको छैन । यो सडक समयमा नै निर्माण नहुँदा समग्र बागलुङ, ढोरपाटन एवं पश्चिम नेपालको पर्यटन प्रवद्र्धनलाई नकरात्मक असर पारेकोले यो सडक समयमा नै निर्माण सम्पन्न गर्नको लागि माननीय मन्त्री ज्यूसँग समेत जोडदार माग गर्दछौं ।

(१७) सालझण्डी ढोरपाटन सडक अन्र्तगत बागलुङको बुर्तिबाङ देखि ढोरपाटन सम्मको सडक समयमा नै निर्माण सम्पन्न गर्न सक्दा बागलुङ एवं आसपासको क्षेत्रमा तीव्र गतिमा पर्यटकीय गतिविधिहरु अगाडि बढ्ने संभावना रहेको छ ।

त्यसैले माथि उल्लेखित बिषयहरुमा माननीय मन्त्री ज्यू एवं मन्त्रालयको तर्फबाट पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथको बीच भागलाई अलग्गै पर्यटकीय हबको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्ने हामीले आशा लिएका छौं ।

खिमानन्द कँडेल

अध्यक्ष, धौलागिरी पर्यटन प्रवर्धन समिति

धौलागिरी समाज नेपाल

धाैलागिरी अन्तर्गत रहेका केही पर्यटकीय दृश्यहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *