संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई केही प्रश्नहरु

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी दुःखद निधन भएको लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा यूवा पुस्ताको आवाजको प्रतिनिधित्व गर्न सक्ने नेता योगेश भट्टराईलाई नियुक्त गरेका छन् । पछिल्लो समय संघीय सरकारको जनस्तरबाट तीव्र आलोचना भैरहेको अवस्थामा सरकारले केही नयाँ मन्त्रीहरु नियुक्त गर्दैछ भन्ने अनुमान आम जनताहरुले गरिरहेका भएता पनि त्यो अनुसार नयाँ मन्त्रीहरुको हेरफेर भने हुन सकेन । आशा गरौं प्रधानमन्त्रीले ढिलोचाँडो जनअपेक्षा अनुसार काम गर्न सक्ने नयाँ मन्त्रीहरु नियुक्त गर्न कन्जुस्याई गर्ने छैनन् । संघीय सरकारले चालेका अधिकांश नीतिगत निर्णयहरु व्यापक रुपमा आलोचित भैसकेपछि पछिल्लो समय प्रधानमन्त्रीले पार्टी नेतृत्व पंक्ति र पार्टीका प्रभावशाली नेताहरुसँगको छलफल तीव्र पारेका थिए ।

मुलतः देशमा व्यापक रुपमा भ्रष्टाचार बढ्दै गईरहेको कुरा प्रधानमन्त्रीले स्वीकार गर्न मानिरहेको देखिँदैन । केही दिन अघि मात्रै बागलुङ जिल्लाको गल्कोट क्षेत्रमा नयाँ प्रशासनीय ईकाई गठन गर्नेबारे माननीय चित्रबहादुर केसी लगायतका नेता एवं कार्यकर्ताहरुसँगको भेटघाटमा प्रधानमन्त्री ज्यूले भ्रष्टाचार बढेको होईन, गिरफ्तारीको संख्या बढेको हो भन्ने खालको अभिब्यक्ति दिएका समाचारहरु पत्रपत्रिकामा आएको सन्दर्भमा प्रधानमन्त्री ज्यूले देशको बास्तविक भ्रष्टाचारको धरातललाई स्वीकार गर्न तयार हुनुहुन्न भन्ने प्रमाणित गर्छ । तर आजको सत्य के हो भने झण्डै झण्डै हरेक विकास निर्माणका ठेक्कापट्टाहरुमा न्यूनतम ३ प्रतिशत देखि ५ वा सो भन्दा बढी प्रतिशत कमिसन कर्मचारीहरुले माथिसम्म पुर्याउनुपर्छ भन्दै ठेकेदारहरु एवं परामर्शदाता कम्पनीहरुसँग लिईरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सडक विभागमा न्यूनतम ५ प्रतिशत प्लस कमिसन निर्माणको ठेक्कापट्टामा चल्ने परम्परा जस्तै बनेको यस क्षेत्रमा काम गर्ने ठेकेदारहरु बताउँछन् । त्यसैले सरकारले मन्त्रालयहरुले विकास निर्माणका कामहरुमा कमिसन लिन्छन् वा लिँदैनन्, राजनीतिक नियुक्ती एवं राजदूतहरु नियुक्ती गर्दा आर्थिक लेनदेन हुन्छ कि हुँदैन जस्ता व्यापक जनचासोका सबालहरुमा स्पष्टसँग बोल्ने हिम्मत गर्नुपर्छ र मात्रै सुशासनको बहसलाई पारदर्शी ढंगबाट अगाडि बढाउन सकिन्छ । आशा गरौं सम्माननीय प्रधानमन्त्री ज्यूले छिटै नै सुशासनको बारेमा पनि स्पष्टसँग जनतालाई सम्बोधन गर्नुहुनेछ । देशमा सुशासनको अवस्था कायम गर्नको लागि माथिल्लो तहमा हुने भ्रष्टाचारहरुलाई न्यूनीकरण गर्न प्रधानमन्त्री ज्यूले पहल गर्नुपर्छ भन्ने आम जनसमुदायको आवाज रहेको छ ।

यसबाहेक पनि बर्तमान सरकारमा रहेका अधिकांश मन्त्रीहरु ब्यापक रुपमा आलोचित छन् । आर्थिक बर्ष २०७५/७६ मा पनि सरकारले सोचे अनुरुप केही कामहरू प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेका छैनन् । सरकारले चालेका कतिपय नीतिगत काम कार्वाहीका सन्दर्भहरुमा पनि प्रयाप्त छलफल र तयारी नपुग्दा जनस्तरबाट नै आलोचित भएको अवस्था छ । त्यसैले यसै सन्दर्भमा हालै मात्र नियुक्त हुनु भएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई जनस्तर र केही पार्टी कार्यकर्ताहरूबाट केही सुझाव र गहन प्रश्नहरु रहेका छन्ः

(१) अधिकांश सार्वजनिक खरीद सम्बन्धी कामहरुमा कर्मचारीतन्त्रबाट माथिल्लो तहका कर्मचारी देखि मन्त्रीसम्म कमिसन पुर्याउनुपर्छ भन्दै कमिसन लिने गर्दछन् , के यस्तो कमिसन नलिने प्रतिबद्धता जाहेर गर्न र लिनेहरुलाई ठाउँको ठाउँ कारवाही गर्न सक्नुहुन्छ ?
(२) नेपाल पर्यटन बोर्ड अन्र्तगत पनि पर्यटन प्रवद्र्धनको लागि ठूलो बजेट रहेको छ । यो बजेटको विगतको बिनियोजन हेर्दा नेपाल पर्यटन बोर्ड केही प्रभावशाली नेताहरुको जिल्ला र क्षेत्रका पर्यटकीय क्षेत्रहरुमा तुलनात्मक रुपमा अत्याधिक बजेट बिनियोजन गरेको देखिन्छ , के नेपाल पर्यटन बोर्डको बजेटलाई न्यायोचित ढंगबाट बिनियोजन गराउनु सक्नुहुन्छ ?
(३) ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारहरुले रचनात्मक प्रयासहरु थालेका छन् , के नेपालको ग्रामीण पर्यटनलाई माथि उठाउनको लागि केन्द्र सरकारको तर्फबाट सिधै जनतासँग जोडिने खालका कामहरु गर्न सक्नुहुन्छ ?
(४) तपाई मन्त्री बन्नुभयो , अब तपाईको घर वा मन्त्री निवासमा ठूलो संख्यामा निश्चित स्वार्थ समूहहरुले घेरावन्दी गर्नेछन्, के यस्ता खालका घरमा गरिने भेटघाट मबाट हुनेछैन, भेट्न चाहनुहुने महानुभावहरुले सिधै सिंहदरवार कार्यकक्षमा आएर भेट्नुहोला भन्न सक्नुहुन्छ ?
(५) अधिकांश मन्त्रीहरु र समग्रमा सरकारले नै सम्बन्धित क्षेत्रका विज्ञ सल्लाहकारहरुको खासै सल्लाह लिएको देखिँदैन , के तपाई नेपालमा नै केही गरौं भनेर लागिरहेका सम्बन्धित क्षेत्रका विज्ञहरुका सुझावहरु लिन तयार हुनुहुन्छ ?
(६) के तपाईले मैले मेरो कार्यकालमा काम गर्दा हरेक जिल्लामा समानुपातिक एवं न्यायोचित ढंगबाट बजेट बिनियोजन गर्नेछु भन्ने प्रतिवद्धता जनतासामू गर्न सक्नुहुन्छ ?
(७) के तपाइले बाईडबडी प्रकरणमा केही घोटाला भएको भए म सम्बन्धित मन्त्रालयको मन्त्री भएको हैसियतमा अनुसन्धानमा सहयोग गर्छु भन्न सक्नुहुन्छ ?
योगेश भट्टराई नेपालका बास्तविक हिरो हुन् भनेर हामीले गौरव गर्न पाउँ । हो तत्कालका लागि यति मात्रै प्रतिवद्धता जाहेर गरेर इमान्दार ढंगले काम गर्दा तपाई यो देशको बास्तविक हिरो हुनुहुनेछ।

यस्ता धेरै सवालहरु छन् र आशा छ जनताका यस्ता प्रश्नहरुलाई सोझो रुपमा तपाईले आफ्नो मन्त्रीको भूमिका मार्फत नै उत्तर दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

लेखक खिमानन्द कँडेल
काँठेखोला गाउँपालिका ५, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *