सांस्कृतिक संस्थानले मासिक रुपमा हरेक महिनाको अन्तिम बिहिवार आयोजना गर्दै आएको सुर – साधना कार्यक्रमकाे बाह्राै शृङ्खलामा गायिका राेजी डंगाेल श्रेष्ठलाई प्रस्तुत गरेको छ।

दर्शककाे उपस्थितिले खचाखच भरिएकाे संस्थानकाे मिनी प्रेक्षालयमा गायिका राेजीले ल्हिच्छि न्हिच्छ चच्छि चच्छि, लँ पवारे दाइचा, मतिना फसदाया, यच्चुगु सर्ग बुलुया वल, मोहनी तया ला, मसिउ जित छुजु छुजु, चुलि जाया वइगु गरी नेवारी भाषाका आठ र आजको समय भोली आउँदैन, म जन्मेको शहर भन्दा, अग्नी परिक्षा, जे सुकै होस्, बाेलकाे चार नेपाली गीत गरी जम्मा एघार वटा गीत प्रस्तुत गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे शुरुवातमा केहि नर्भस भएता पनि गीत गाउँदै जाँदा दर्शककाे ताली र हाैसलाले गर्दा गायिका राेजी निकै उत्साहित बन्नु भएकाे थियाे। गायिका राेजीलाई गायनमा दिपेन्द्र बज्राचार्य, गंगा राई, सानुबाबु महर्जन, सुमित खड्का, प्रिति तामाङ, अमृता रेग्मी लगायतका गायक गायिकाले साथ दिनु भएकाे थियाे भने वाद्यवादनमा कृष्ण गुरुङ्ग, खर्क बुढाः लाेकराज राई, दुर्गा खतिवडा, तिर्थराज पाेख्रेल, नरेश प्रजापती, सितामैयाँ राचल, भगिरथ शुस्लिङ, रविन कार्की ढली, भिम ब‍. गाेर्खाली र राहुल भुजेलले साथ दिनु भएकाे थियाे।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठ, विशिष्ट अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, राष्ट्रिय सभा सदस्य खेम नेपाली, सांसदहरु कृष्ण राई, मैनाकुमारी भण्डारी, वसन्त मानन्धर, अभिनेत्री कविता आले, पवित्रा घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, सांसद कृष्ण राई, वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतका व्यक्तिहरुले गायिका रोजीको सांगीतिक सक्रियताका बारेमा चर्चा गर्नु भएकाे थियाे भने रोजीकी पति वालचन्द्र श्रेष्ठले रोजीको सांगीतिक जीवनमा आफूले सधैं सघाएको र आगामि दिनमा पनि सघाउने प्रण गर्दै रोजीका नामले आफू चिनिएकोमा निकै खुशी लागेको कुरा सुनाए । संचारकर्मी सुरजवीर बज्राचार्यले सञ्चालन गरेकाे कार्यक्रममा सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना महाशाखा प्रमुख प्रभाकर शर्माले स्वागत मन्तव्य दिनु भएकाे थियाे भने प्रमुख अतिथि दुर्गालाल श्रेष्ठले सुर-साधना जस्ताे कार्यक्रमकाे शुरुवात गरेकाेमा महाप्रबन्धक राजेश थापाकाे प्रशंसा गर्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएकाे थियाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *